कविता : तलब आएपछि

~केडी रेम्नीसीङ~

ए हजुर!
– हजुर !!
मेरो नयाँ सारी कहिले किन्ने?
साथीहरू जागिरेको परिवार भन्छन् ।
– तलब आएपछि ।।

– हेलो !
हेलो छोरा सञ्चै छस् ?
– ढोग गरें, बाँचेको छु ।
अब त जागिर नि खाइस,
पोहोर को ऋणको ब्याजै भए नि पठाई दे ।
– तलब आएपछि ।।

बाबा! बाबा!!
– भन बाबु ।
मलाई गुड्ने बाइक र उड्ने जहाज
ल्याइदिनु न ।
– तलब आएपछि ।।

दाइ मलाई एउटा मोबाइल सेट !
– तलब आएपछि ।।

ए हजुर, खाना खान आउनुस् ।
– तलब आएपछि ।
– ए हैन हैन, आईहालेँ ।

तलब आको दिन,
चामल र तरकारी पसले लाई,
जम्माको २५ भाग,
घरबेटीलाई २० भाग,
चिया र भट्टी वालालाई १० भाग,
बोर्डिङ्ग स्कुललाई १० भाग,
साथीको छिनाउन र यता उता २५ भाग,
पर्समा बाँकी १० भाग ।।

तलब आको भोलि पल्ट,
ए हजुर, सुनिस्यो त ।
– भनिस्यो हजुरको हजुर ।
हिजो मात्र तनखा थापिस्या हैन!!??
पर्स त दुब्लो छ त,
कहिले आउँछन् हात्तीहरू? यसभित्र??
– तलब आएपछि ।
कहिले?
– अर्को महिना ।।।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.