कविता : छतमा उभिएका छन् बा

~जयराज भट्टराई~Jayraj Bhattarai

म,
देउतालाई नचल्ने काम गरेर
पस्छु लुसुक्क छत मुनि ।
रिसाउँदैनन् देउताहरु
किनकि,
छतमा उभिएका छन् बा
देउतातिर फर्किएर उनी
असंख्यपटक जोडिरहन्छन्
मेरै नाम लेखिएका हत्केला ।

म,
पितृहरुले नगरेको काम गर्छु
तर देख्तैनन् पितृहरु मलाई
किनकि,
उनीहरुको मृत्यु तिथिमा
सारा पितृपेट अघाइदिन्छन् बा
बदलामा मागिदिन्छन् मेरै निम्ति आशिवार्द ।

म,
दशठाउँ उधारो खाएर
सुटुक्क पस्छु छतमुनि
मलाई उधारो खुवाउनेहरु बाकै साहू भैदिन्छन्
छतबाटै सल्टाउँछन् बा उनका नयाँ साहूहरुलाई ।

छतमुनि ढुक्क छु म
मलाई यहाँ —
हप्काउँदैनन् देउताहरु
देख्तैनन् पितृहरु
छुँदैनन् साहूहरु
किनकि
छतमा उभिएका छन् बा ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.