कविता : घाउहरू कोट्याउँदा

~भेषराज रिजाल~

पल्टाउँदै जाँदा डायरीका पानाहरू
छातीभित्रका घाउका खाटाहरू
उप्काउँदै गएजस्तो लाग्छ
पल्टाउँदै जाँदा अतीतका पाटाहरू
देखेर अन्तरमनका दुख्ने घाउहरू
जिन्दगी नै भेट्टाएजस्तो लाग्छ ।
जिन्दगी एउटा घाउ हो
वा हो –
मल्हम लगाउँदै खातखात मिलाएर
राखेका घाउहरूको सँगालो
पीडाहरूको प्रवाह फाटेर
वेगिएको भङ्गालो
कहीँकहीँ सुखसँग आत्मसमर्पण गरे पनि
सङ्घर्षबाटै समेटिन्छ जिन्दगी
र बल्छ –
साहस, दृढता र विश्वासको उज्यालो
त्यसैले,
प्रत्येक साँझ जिन्दगी खोज्न
म टुकीको उज्यालो विच्छ्याउँछु
अनि देख्छु
आँसु र पसिनाका नदीहरू तर्दै
कञ्चन खारिएर जिन्दगी
बढिरहेछ अनवरत
फेरि खोज्छु
भेटिन्छन् केही घाउहरू
केही घाउहरू भेटिँदैनन्
मात्र दुखिरहन्छन्
नभेटिएका घाउहरूभन्दा
भेटिएका घाउहरू आफ्ना लाग्छन्
र त्यत्ति नै प्यारो लाग्छन् ।

दुःखलाई चिन्न खोज्दा
दुःखले पनि चिन्यो भने
जिन्दगी जिन्दगीजस्तो हुन्छ भनेर
आँफ्नै जिन्दगी बाँचेजस्तो हुन्छ भनेर
फुर्सदमा म–
अतीत पल्टाइरहन्छु !
आँसु पसिना बगाइरहन्छु !
घाउहरू कोट्याइरहन्छु !

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.