कविता : आकाश खस्यो भने के हुन्छ ?

~भीष्म उप्रेती~Bhishma Upreti_1

मलाई सानो छोराले सोध्यो –
‘बाबा, आकाश खस्यो भने के हुन्छ ?’
मैले पहिला उसलाई हेरेँ
र पछि हेरेँ आकाशलाई ।

आकाश जसलाई म आस्था मान्छु
पवित्र आस्था,
आकाश जसलाई म विश्वास मान्छु
दृढ विश्वास,
आकाश जसलाई म आकांक्षा ठान्छु
उच्च आकांक्षा,
आकाश जसलाई म हृदय मान्छु
विशाल हृदय ।

म आकाशबाट झर्ने झरिवर्षासँग रुझेको छु
इन्द्रेणी लाग्दा आकाशमा उल्लसित हुँदै कुदेको छु
मैले आकाशमा छोराछोरीजस्तै जूनतारा देखेको छु
र धेरै धेरै माया गरेको छु
मैले आकाशमा बल्दै गरेको सूर्य भेटेको छु
र उज्यालोको गीत लेखेको छु ।

मनमा कुराहरु खेलिरहेछन्
पालैपालो हेर्दैछु आकाशलाई र छोरालाई
भन्न सकिरहेको छुइनँ
के जवाफ दिऊँ म उसलाई ।

मलाई सानो छोराले सोध्यो –
‘बाबा, आकाश खस्यो भने के हुन्छ ?’

शनिश्चरे, झापा
हालः काठमाडौं

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.