कविता : असार १५

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

असारे गीत गाउनु पर्ने हो
खेतका आलीहरुसंग खेल्नुपर्ने हो
हलो जोत्नुपर्ने हो
खेतका आलीहरु सम्याउनु पर्ने हो
अनि खेतालाहरु हिलाम्मे हुनुपर्ने हो
आज असार १५ ।
खेतहरुमा अहिले खेतीपाती गरिंदैन
खेतमा अन्नबाली रोपिंदैन
खेतहरुमा फलामे रडहरु रोपिन्छन्
कंक्रिटका अग्ला अग्ला महलहरु उठाइन्छन्
किसानहरु आधा पेटको भोक साट्न बिदेसिन्छन्
विदेशका कारखानाहरुको मेसीनहरुसंग पलपल जुझिरहन्छन्
विश्वकपका हेर्न आउने दर्शकहरुको लागि
सुविधायुक्त महलहरु निर्माण गर्छन्
कति त्यहि मर्छन्
वाँचेकाहरुले आधापेटको हिसाबमा
आफुलाई वेच्न वाध्य हुन्छन् ।
सारा किसानहरु मजदुर भएका छन्
मजदुरमा परिणत हुने काम जारी छ ।
मान्छेहरु खेतीयोग्य जमिनमा
ठडिएका आँखा घोच्ने अग्ला घरहरुमा वसेर
मजदुरको पसिनाले आर्जेको
दहि अनि चिउरा चपाएर
असार १५ को उत्सव मनाइरहेका छन्
दहि चिउरे उत्सब ।
बचेखुचेको जमिनमा
खेतका आलीहरु जस्तोमा
खेताला वा किसान देखिंदैनन्
बरु मोडलहरु अर्धनग्न अवस्थामा भेट्टाइन्छन्
खेतमा नेताहरु पनि त्यत्तिकै नांग्गींदै छन्
असारे भाकाका गीतहरुमा
कामुक भएर मान्छेहरु नाचिरहेका पाइन्छन् ।
अखवारहरु भोली पल्ट
छाडा असारे तस्वीर वेचेर
असार १५ लाई रंगिन बनाउने गर्छन् ।
किसानको तस्बीर कतै छापिंदैन
किनकी किसान कतै पाइंदैन ।

(२९ जुन २०१६, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.