समीक्षा : अंग्रेजी र अर्धसत्य

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

झूठभन्दा पनि खतरनाक हुन्छ अर्धसत्य ।

द्रोणाचार्यको मृत्युबिना पाण्डवहरूले महाभारत युद्ध जित्नु सम्भव थिएन । पुत्रशोक नभई मृत्यु नहुने वरदान द्रोणले पाएका थिए । उनका छोरा अश्वत्थामा अमर थिए । पाण्डवहरूले अश्वत्थामा नामको हात्तीलाई मारे र द्रोणलाई विह्वल पार्न सत्यवादी युधिष्ठिरलाई प्रयोग गरे । युधिष्ठिरले चतुरतापूर्वक सत्य बोले, ‘मान्छे हो कि हात्ती हो, अश्वत्थामा मारियो ।’ द्रोणलाई छोरा अमर छ भन्ने जति विश्वास थियो, त्यति नै युधिष्ठिर झूठो बोल्दैनन् भन्ने । द्रोणले पत्याए र पुत्रशोकले विह्वल भए । त्यही मौका छोपेर द्रुपद पुत्रले उनको टाउको छिनाले ।

सत्यमा असत्य छिराउने अनुपम शैली थियो युधिष्ठिरको । चतुरहरू हत्तपति सत्य बोल्दैनन्, बोल्नै परे यसैगरी बोल्छन् । अंगे्रजी पढ्ने, लेख्ने तर नेपाली साहित्यबारे अल्पज्ञान राख्ने, अखबारी पहुँच भएका केही लेखक हामीकहाँ यही गरिरहेछन् । उनीहरू जोयस क्यारोल, नर्मन मेलर, भीएस नयपाल, उम्बर्टो इकोदेखि सलमान रुस्दी, विक्रम सेठ, अरुन्धती राय, शशि थरुर, रुथप्रवर झाववालाका कृतिसम्म चर्चा गर्न भ्याउँछन् तर नेपाली साहित्य पढेको छैन भन्न एकप्रकारले गर्वै गर्छन् । अचम्म त के छ भने आफूले नपढेको त्यही साहित्यलाई तुच्छ भन्न पनि हिच्किचाउँदैनन् । नेपाली भाषा, साहित्यप्रति आत्महीनता बढाउन गरिएको यो नजानिँदो त्यस्तो विशिष्ट षड्यन्त्र हो जो एंग्लो-इन्डियन सलमान रुस्दीको स्टन्टबाजीसँग मेल खान्छ । रुस्दी भारतीय मूल भाषाका साहित्यलाई तुच्छ भनेर दुत्कार्छन् जब कि भारतीय साहित्य पढ्दै नपढेको निर्लज्जतापूर्वक स्वीकार्छन् । सिर्जनशील लेखनका अतिरिक्त उनी समय-समयमा पत्रकार शैलीमा स्टन्ट गर्छन् र भारतीय अंग्रेजी साहित्यलाई संसारकै श्रेष्ठ साहित्यको कोटीमा राख्छन् । अंग्रेजीप्रेमी नेपाली महोदयहरूको नेपाली साहित्य अज्ञान पनि त्यस्तै छ जस्तो रुस्दीले भारतीय कवि महाप्राण निरालालाई उपन्यासकार भन्नु ।

डा. गोविन्दराज भट्टराईको लेख पढेपछि थाहा भयो, ‘अ सर्भे अफ इंगलिस’ मा खैरे बाबुसाहेबहरूले लेखेछन्- ‘भारतजस्तै अवस्था भएका बेलायती उपनिवेश रहेका अन्य देशमा बंगलादेश, श्रीलंका र नेपाल हुन् ।’ डेविड क्रिस्टल नामका अर्का गोरासाहेबले ‘अँध्यारोमा ढुंगा हान्दै’ लेखेछन्- ‘नेपालमा प्रथम भाषाका रूपमा अंग्रेजी प्रयोग गर्नेहरू तीस प्रतिशत छन् कि !’ हेर्नुस् त, अज्ञानको पृष्ठभूमिमा कत्रो षड्यन्त्र ? नेपाल कहिले बेलायतको दास भयो ? के नेपालमा प्रथम भाषाका रूपमा अंग्रेजी प्रयोग गर्नेको संख्या तीस प्रतिशत छ ? नेपाली, अंग्रेजी र संसारकै साहित्य ज्ञान राख्ने अभि सुवेदी, दुर्गाप्रसाद भण्डारी, गोविन्दराज भट्टराई, पद्मप्रसाद देवकोटा, तारानाथ शर्मालाई छाड्ने हो भने अंग्रेजी हाईहाई गर्ने नेपाली जमात यस्तै चतुर्‍याइँ गरिरहेका छन् ।

कान्तिपुरमा छापिएका अजित बरालका सम्पादनसम्बन्धी लेख जति रुचिकर छन् त्यति नै अपुंगे छन् लेखमा उनले दिएका पुस्तक सूची, आत्मश्लाघा र नेपाली साहित्यसम्बन्धी टिप्पणी । नेपाली साहित्यमा यसप्रति निकै चिसा प्रतिक्रिया व्यक्त भएका छन् । आफ्ना लेखमा बारम्बार उनले लिइरहने नाम हुन्- भीएस नयपाल, विक्रम सेठ, वेद मेहता, अरुन्धती राय, शशि थरुर, सलमान रुस्दी, जेके रोलिङ्स । नेपाली साहित्यबारे बारम्बार उनले टिप्पणी गरेका छन्- ‘यो स्तरहीन छ ।’ बारम्बार स्विकारेका पनि छन्- ‘नेपाली साहित्य आफूले निकै कम पढेको ।’ सतही ज्ञानका भरमा धारणा बनाउने प्रवृत्ति अधिभूतवाद हो । यो, कास्मिरी स्याउ भित्रैसम्म रातो छ भन्नुजस्तै हो । स्याउ त सतहमा रातो हुन्छ, त्यसभित्र सेतो र अझ गेडा कालो हुन्छ । साहित्यलाई भोजभतेरका रूपमा लिने अखबारी अंग्रेजी लेखनमा नाम चलेका केही लेखकका नेपाली साहित्यसम्बन्धी दुर्लभ टिप्पणीमा पनि यस्तै अर्धसत्य भेटिन्छ ।

हो, नेपाली साहित्य विश्वस्तरमै उँचो छ भन्नु त्यतिकै अर्धसत्य हो जति स्याउ पूरै रातो छ भन्नु । पक्कै पनि नेपालीमा कुँडा- करकट स्तरमा लेख्नेकै बाहुल्य छ । तर यसको अर्थ नेपाली साहित्य निल छ भन्ने होइन । राम्ररी छान्ने हो भने यसका कतिपय कृति विश्वसाहित्यको हाराहारीमा उभिन अवश्य सक्छन् । -सबै कृति त टाल्स्टाय, चेखब, दोस्तोएब्स्की, इब्सेन, शेक्स्पियरका पनि राम्रा छैनन् ।

‘क्लासिक्स’ लाई मात्र उत्कृष्ट मान्ने स्थिति अब छैन । विषयवस्तुमाथिको पकड, स्थानीयता, भाषा, शैली र आधुनिक चेतना नै उत्कृष्ट साहित्यका विशिष्टता हुन् । मनु ब्राजाकीको एउटा कथा छ- आखिर सजीवको कर्तव्य के हो त ? यो कथालाई थोमस हार्डीको आञ्चलिक उचाइसँग सजिलै दाँज्न सकिन्छ । कथामा व्यवस्थाको कुरूपताको नग्न रूपमात्र छैन, तराई भूमिको आलो बास्ना पनि छ । भ्रष्ट व्यवस्थाले समाजलाई नै कसरी भ्रष्ट बनाउँछ र सही मानिस कसरी एक्लो र विक्षिप्त हुन्छ भन्ने हृदयविदारक कथा यसमा छ । प्रयोग, भाषा, शैली र व्यंग्यात्मकताका हिसाबले पनि यो कथा उत्कृष्ट छ । गोविन्दबहादुर गोठालेका ‘मैले सरिताको हत्या गरे’, ‘लक्ष्मीपूजा’, ‘म जुजुमान’, ‘खेल’, ‘निद्रा आएन’

जस्ता कथा र ‘पल्लो घरको झ्याल’ उपन्यासका सांस्कृतिकता, स्थानीयता र मानवीय दुर्भाग्यका प्रसंग उस्तै असाधारण छन् ।

आधुनिक चेतना, शैली, सिल्प र भाषिक शक्तिका हिसाबले पनि विश्वआख्यानको हाराहारीमा उभिनसक्ने साहित्यकार हुन् ध्रुवचन्द्र गौतम । ‘अलिखित’, ‘स्वर्गीय हीरादेवीको खोज’, ‘कट्टेलसरको चोटपटक’, ‘उपसंहार अर्थात् चौथो अन्त्य’ नेपाली साहित्यकै नयाँ आविष्कार हुन् । गौतमका यी कृति प्रयोगका कारणमात्र नभई सुरुचिपूर्ण भाषा, शैलीका कारण पनि प्रख्यात छन् । ‘उपसंहार अर्थात् चौथो अन्त्य’ मा पुनःस्थापित प्रजातन्त्रमा प्रजातन्त्रयोद्धाकै हत्या हुन्छ । उसको अन्त्यको बयान चारथरी छन् र चारै बयान उत्तिकै सत्य हुन् । ‘प्रतिद्वन्द्वी’, ‘ढुंगा’, ‘विशाखदत्त तिम्रो नाम के हो ?’, ‘अभ्यस्त’, ‘नीलडाम’ जस्ता उनका कथा पढ्ने हो भने नेपाली कथाको उचाइ प्रस्ट हुन्छ ।

विजय मल्ल, रमेश विकल, गुरुप्रसाद मैनाली, बीपी, पोषण पाण्डे, पारिजात, खगेन्द्र संग्रौला, राजव, ध्रुव सापकोटाका ‘छानिएका कथा’ मल्लकै अनुराधा, पारिजातको ‘शिरिषको फूल’, ‘अनिदो पहाडसँग’, सरुभक्तको ‘पागल बस्ती’, डायमन शमशेरको ‘वसन्ती’, ‘सेतो बाघ’, ‘अनिता’, ‘प्रतिबद्ध’, इन्द्रबहादुर राईको ‘आज रमिता छ’, धनुषचन्द्र गौतमको ‘घामका पाइलाहरू’, लीलबहादुर क्षेत्रीको ‘बसाइ’, पिटर जे कार्थकको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’, नयनराज पाण्डेको ‘उलार’ जस्ता उपन्यासका सौन्दर्य कम छैनन् । रिमालको ‘आमाको सपना’, भूपिको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्ता कविताकृति वा मीनबहादुर विष्ट, कृष्णभूषण बल, विमल निभा, श्यामल, बासु शशि, हरि अधिकारी, वैरागी काइँला, ईश्वरवल्लभ, जसराज किराँती, विक्रम सुब्बा, गोविन्द वर्तमान, हेम हमाल, पूर्ण वैद्य, प्रतिसरा सायमी, सुरेश किरण, नर्मदेश्वर प्रधान, श्रवण मुकारुङ, ‘अविनाश श्रेष्ठका केही कविता’ विजय मल्ल, गोठाले, अशेष मल्ल, सरुभक्त, ‘अभि सुवेदीका केही नाटक’ देवकोटा, शंकर लामिछाने, नारायण ढकालका आत्मपरक निबन्ध हाम्रो साहित्यका उचाइ हुन् । पारखीले मात्र देख्न सक्छन्, जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ ।

रूसी आख्यानकार येनाव्येभको उपन्यास ‘म्याडहाउस’ मा यस्तो एउटा राज्यको वर्णन छ जहाँको क्रियाकलाप पूरै भ्रष्ट संस्थानिक ढाँचाबाट चल्छ । सेयर मार्केट विशेषज्ञलाई साहित्यिक एकेडेमी पठाइन्छ, सौन्दर्यशास्त्रीलाई कृषिर्फम र कविलाई पागलखाना । हत्याराहरू कविता लेख्छन् जसलाई सदर गर्छन् पागलहरू । पत्रकारलाई बगरेको काम लगाइन्छ, बगरेलाई सम्पादक बनाइन्छ । जुन व्यक्ति जहाँ हुनुपर्ने हो, त्यो त्यहाँ भयो कि पागलखानाको नियम तहसनहस हुन्छ । यो देश अहिले पक्का ‘पागलखाना’ को भूमिका निर्वाह गरिरहेको छ । लेखकीय नैतिक दरिद्रतामा त्यसको प्रतिबिम्ब देखापर्नु के अनौठो भयो र !

पछिल्लो समय अंग्रेजीप्रेमी समुदायले सम्भवतः सबैभन्दा खारेर पढेको र प्रशंसा गरेको कृति हो- नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ । तर उनीहरूलाई होश हुनुपर्ने हो, यो कृति नेपालीमा लेखिएको हो र यसमा निहित नेपाली ग्रामीण भूमिको आलो बास्ना र चोखो भाषा अंग्रेजीमा सम्भव हुँदैन । के अंग्रेजीप्रेमी यो समुदाय अर्धसत्य फैलाउन लाइसेन्स प्राप्त हो ?

(स्रोत : कान्तिपुर)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.