कविता : स्वतन्त्रता हो मानवता रे

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

स्वतन्त्रता हो मानवता रे !
घाम यही हो, कुइरो धनमा लाग्छ कहाँ र पता रे ?
कुइराका सब काकहरु पनि बोल्छन् यसकै कथा रे !
सिक्रीका पनि पशुहरु भन्छन्ः “आजाद सबै छौँ सदा रे !”
धेरै बोल्छन्, थोरले बुझ्दछ,
दासता हो मानव चिता रे !
स्वतन्त्रता हो मानवता रे !

युग युग कोटी मानव उडेथे लाउन यसको पता रे !
तर यति मसिनो यो छ उज्यालो, भूमा स्वर्ग ज्यथा रे !
सूनसान नै यसको बाटो
झर्छ जहाँ छ मरमिट माटो,
ममता यसको समतासँगमा
ढाक्दछ जागृत जनता रे !
स्वतन्त्रता हो मानवता रे !

मिथ्या पूजन गर्छ निरन्तर यसको शोषण प्रथा रे !
वर्गस्वार्थले यसको अर्थ विकृत पारे, बटारे !
मानव मानवप्रति जब मानव हुन्न, हुँदैन पता रे !
सन्तुलनमा ताराहरुको झल्क्यो पहिले यता रे !
स्वतन्त्रता हो मानवता रे !

खिच्दछ नरले नर–वानरझैं फन्को लगाई गलामा,
किन्दछ मानिस मानिसलाई चतुर बनेर कलामा,
बायाँ करमा रोटी समाऊ, दायाँ करमा तरबार,
भोको उदरले भगवान् बोल्दछु,, काँप्दो मुटुले अवतार ।
व्यक्ति, विचार छ अर्थ स्थितिमा नित्य अवस्थित क्यारे !
अदृश्य जानी हाल्छ फटा’ रे !
स्वतन्त्रता हो मानवता रे !

कब्जे तिमीले शस्त्र र औजार, कल र कोदाली कुटा रे !
भोक र रोगले दुनियाँ मुठीमा पिस्छौँ मुष्टि बटारे ।
समष्टिका हक व्यष्टिले टारे पाउँछ कसले था’रे !
स्वतन्त्रताको सच्चा मुटु तर समता, मानवता रे !
स्वतन्त्रता हो मानवता रे !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *