छन्द कविता : सहिद, उत्सर्ग र औचित्य

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- शार्दूलविक्रीडित

के हुन् मानव, जन्तु, सिन्धु,अवनी, आकाशको अर्थ के ?
स्रष्टा-सृष्टि, त्रिकाल, अंशु, रजनी या नाशको अर्थ के ?
के हो न्याय, समाज के समय के अन्याय के गर्व के ?
केके हुन् वलिदानका गुणहरू, उत्सर्गको अर्थ के ?

बत्तीछेउ झुमिन्छ मर्छ पुतली सौन्दर्यको भोकले
एकै झापडमा किचिन्छ भुसुनो टोकाइको झोकले
मर्छन् काल-अकालमा, समरमा, झुन्डेर मर्छन् कति
के सारा मृत जीव नै सहिद हुन् ? लड्ने र मर्ने जति ?

भुल्को उठ्दछ युद्धको सडकमा चौतर्फ धम्की दिई
आआफैँ बिच काटमार छ छुरा, भाला र इँट्टा लिई
बाँच्ने राहत औषधी, धन लिई आराममा लाग्दछन्
मर्नेका हुल उम्लिँदै “सहिद”को उच्चास्मिता माग्दछन् !

कोही भोगविलासका रहरले मर्छन् परी खाडल
कोही मर्दछ झुन्डिएर त कुनै छर्केर दाबानल
मौरी मैथुन कर्मका प्रहरमै अल्पी त्यहीँ मर्दछन्
के मौरी पनि उच्च ती सहिदकै आलेखमा पर्दछन् ?

के हाम्रा इतिहास पत्र झुट हुन् या तर्कना मात्र हुन् ?
के “पृथ्वी”, बलभद्र काल्पनिक हुन् या नाटकी पात्र हुन्
गङ्गालाल र “चन्द”का, लखनका पाना हराए कता ?
त्यागी “शुक्र” र “धर्म”का, “अमर”का छाना हराए कता ?

खोज्छन् गाँस-कपास-बास जनता मुग्लान-खाडीतिर
सत्ता,न्याय र शक्तिका गढ सबै फुल्छन् “गफाडी”तिर
जुध्छन् गिद्धसमानका गुट सिनो हत्याउने लक्ष्यमा
मर्छन् दुर्बल चेपिँदै “सहिद” को बिल्ला भिरी वक्षमा ।।

के चिल्ला गफ मात्रले सहिदको सम्मान झल्किन्छ र ?
छर्की दौलत लासमा प्रगतिको आभास के मिल्छ र ?
मात्रै मृत्यु बयानले नगरियून् उत्सर्गको मापन
खुल्ला व्यापक अर्थ ती सहिदका खुम्ची नहून् खण्डन !

“त्यागी” मृत्यु सहेर हाँस्छ सहजै आफ्नो धरा चम्कँदा
माटो निम्ति लडेर जो मृत बने ती पूज्य हून् सर्वदा
मर्छन् जीव अवश्य आयु सकिए ! यो सत्य को टार्दछ ?
जो मर्दा पनि बाँच्छ ऊ “सहिद”को दृष्टान्तमा पर्दछ ।।

– नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in छन्द कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *