कविता : शहर

~मणिराज सिंह~Maniraj Singh

जताततै झिङ्गै झिङ्गा भन्किरहने
भित्रभित्रै धमिराले खाएर
आत्मग्लानीको ओढ्नेले मुख छोपेर
अग्निदहमा जलिरहेको
यो शहर
कंक्रिटको महलै महलको थुप्रोमा
कति समृद्ध
कति सुन्दर
र कति भव्य देखिन्छ ।

हृदयका भित्री सुन्दुकमा
उम्लिरहेको पानीझैँ
भँुवरी र सुनामीका भेलहरूमा
प्रवृत्ति र दृष्प्रवृत्तिले चिरा–चिरा परेर
एक मुठी हावा
र एक घुट्को पानी नपाएर
काकाकूलझैँ भौतारिदै
आत्मग्लानीले छट्पटाइरहेछ
भतभत पोलिरहेछ
इटाभट्टीको रापमा
अधकल्चा सपनाहरू काखी च्याप्दै
लथालिङ्ग जिजीविषा गाउँदै
छल कपटको बिकृतिले रङबङ्गिएर ।

पटक पटक भाँसिरहेछ
बेथितिहरूको अन्धकारमा
लाटोकोसेरोझैँ पखेटा फटफटाएर
लोडसेडिङ्को मारमा पिल्सिएर
फोहोर पानीमा डुबुल्की मार्दै
छताछुल्ल पोखिरहन्छ
शोकमा डुबिरहन्छ
भोकमा हराइरहन्छ ।

यो शहर
बनावटी लालसा छर्दै
इन्द्रेणीझैँ मुस्कुराइरहन्छ
रित्याएर आफैँलाई
प्रत्येक क्षण अग्लिरहन्छ
अभावैअभावले भत्किएर
लड्छ र उठ्छ पटक–पटक
मातेर वेस्सरी
आँधिवेरीको मुस्लोमा
रिस, राग र ईष्र्या देखाउँदै
विसङ्गति र व्यभिचारको पसल थापेर
आँगन, चोक र गल्लीहरूमा
निस्फिीक्री निदाइरहन्छ
फुस्रोधुस्रो अनुहार टाँसेर
रगतको छालमा नुहाइरहन्छ
निरासा, आक्रोस र असन्तुष्टीको
पर्खाल ठड्याएर
हड्ताल र जुलुशहरू जन्माइरहन्छ ।

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *