लघुकथा – एक परिचर्चा

~बिपुल सिजापति~Bipul Sijapati

फिस्टो निक्कै सानो हुन्छ तर सानो हुनु त्यसको दुर्भाग्य हैन, फिस्टो जीवित र सम्पूर्ण हुन्छ । तात्पर्य के भने जगतमा विद्यमान हरेक वस्तु या प्राणी आआफ्नै रूपमा महान् छन् महत्वपूर्ण छन्, तिनका रूप या आकार, अथवा लघुता या दीर्घता मापक हुँदै होइनन्, निहित गुण र उपयोगिताका नजरले कसि लगाइन्छ । यसका अतिरिक्त साहित्यमा प्रकार तय भए पश्चात् त्यसको आकार निश्चित् हुन आउँछ । कुनै रचनाको प्रकारको रहस्य त त्यसको नाभिमा निहित र सुरक्षित हुन्छ तर आकार तरल मानसिक अस्थिरता भएकोले यसको आयतन नाप्न सकिए पनि आकार नाप्न भने सकिदैन । लघुकथा पनि यस सिद्धान्तबाट अछुत छैन । विभिन्न बिद्धानहरुको तर्कहरुबाट मध्यमार्ग या मिडियन निकाल्ने हो भने ३०० देखि ४०० शब्दहरूको मापन नै लघुकथाको आकार भन्न सकिन्छ ।

शान्त तलाउबाट लहर निस्कदैन । पानीमा केही विचलन भएमा मात्र लहरहरु उव्जन्छन् । लघुकथा पनि अस्थिर समाजमा नै अधिक जन्मन्छन् । जहाँ पुरातन सोचहरु काम नलाग्ने हुन्छन्, जहाँ स्थापित मान्यताहरूमा खिया लाग्न थाल्छ र जब नवनिर्माण र नयाँ बाटोको आवश्यकता टडकारो आवश्यकता पर्दछ, तब लघुकथा जन्मन्छ ।

लेखक समाजको दर्पण हो र साहित्य जीवनको कणकणलाई उजागर गर्ने शव्दहार हो । जब नयाँ उत्पति भएका बिसंगतीहरुलाई पुरातन सोचले सम्बोधन गर्न सक्दैन, बाटो देखाउन सक्दैन, तब नयाँ धारणा, नयाँ सोच र नयाँ मार्गदर्शन सहित लघुकथा निस्कन्छ । त्यसैले लेखक समाजको दर्पण हो भन्ने परिभाषामा सीमित भएर समस्या प्रतिबिम्बित गर्ने मात्र नभएर त्यसलाई सम्बोधन गर्दै मार्गदर्शकको भूमिका समेत निर्वाह गर्न सक्षम हुनुपर्दछ । लघुकथा स्वरूपमा लघु भएता पनि यसले बृहत् क्षेत्रलाई सम्बोधन गर्न र जटिल समस्यालाई मार्गनिर्देश गर्न सक्षम भएको कुरा श्रष्टाले बिर्सनु हुन्न ।

सिपिभित्र पसेको बाह्य तत्वलाई समाजमा उव्जिएको बिचलन मानेर यसलाई अनुभूत र आत्ममसात गर्दै यसबाट उव्जने वेदनाको लामो कष्ट सहेपश्चात् विवश भएर लेखिएको लघुकथा मोती समान हुन्छ ।

तर मोतीको रूप धारण गरिसकेको लघुकथालाई बलजफति निकाल्नु पनि यथोचित होइन, बरु यसलाई कुशल शल्यचिकित्सकलेझैँ अत्यन्त्य सावधानीका साथ निकाल्नु यथोचित हुन्छ । निस्किए पश्चात् आभा बिहिन हुनु या आभा गुमाउदै जानुको कुनै अर्थ रहदैन । लघुकथा नै मानव सभ्यता या र संस्कृतिमा घुलमिल भएर युगान्त सम्म फैलिएर स्थिर हुने साहित्य हो । हामीले अहिलेसम्म सुन्दै आएका र स्मरण भएका रामायणका, माहाभारतका तथा अन्य लोक लघुकथाहरु यसका प्रमाण हुन्, जो हजारौँ वर्षदेखि अहिलेसम्म जीवित छन्, मार्गदर्शक छन् र नैतिक ज्ञान दिन सक्षम छन् ।

लघुकथाले अवाक बनाउने मात्र होइन, यसले मोहित पनि बनाउछ र विवेकको उदय गराएर चेतनाको आकाशलाई उज्यालो पनि बनाउने भएकोले कथामा लघुरुपमा समाहित तर धारिलो विरोध, प्रतिरोध र असत्य माथिको प्रहारको घनत्व ज्यादा महत्वपूर्ण हुन्छ ।

लघुकथाले समाजमा उव्जेका समस्या माथि प्रहार गर्ने हो बिश्रृंखलता माथि प्रहार गर्ने हो, समाजको अँध्यारो चिर्न असत्य माथि प्रहरा गरेर विवेकलाई जगाई चेतना फैलाउन गर्ने हो । त्यसैले लघुकथा सदैव समसामयिक घटनाहरूलाई लिएर समकालीन पाठक या श्रोताको लागि लेखिन्छ, रचिन्छ । लघुकथा समकालमा उव्जिएका समस्यालाई सम्बोधन गर्न र समकालीन समाजलाई बोध गराउने माध्यम भनेको भाषा भएकोले यो धारिलो हुनुपर्दछ । ढुङगाको बोधो प्रहार भन्दा घातक धारिलो छेउ बनेर फुटेको टुक्राको हुन्छ जसले गहिरो घाउ बनाऊ“छ । भाषाले सुशुप्त चेतना जगाउन भित्रैसम्म चिर्नै पर्दछ । त्यसैले प्रयोग गरिने भाषा ढुङगा समान नभएर ताछिएको सुन्दर मुर्ति समान हुनुपर्दछ, जसले कथामा परिदृष्यको उपस्थिति गराइदिन्छ, बिसंगतिको स्पष्ट चित्रण गरिदिन्छ र सटिक मार्गनिर्देश समेत गर्दछ ।

लघुकथा वाल्मिकीको तत्क्षणको अनुभूतिबाट निस्किएको “मा निषाद” उदगार होइन् । लघुकथा समाजमा देखापरेका बिसंगती या समस्या श्रष्टालाई अनुभूत भए पश्चात् त्यसमाथि प्रहार गरिने सटिक शव्दवाणहरुको संगालो हो जसले पाठक या श्रोताको अन्तस्करणमा गएर निर्मम प्रहार गर्नुका साथै बिसंगती र समस्याको बोध गराएर मार्गप्रसस्ति गरिदिन्छ । अतः लघुकथामा कल्पनात्मकता न्यून भन्दा न्यून हुन्छ भने यथार्थताको गुञ्जन अधिक हुन्छ ।

लघुकथाको स्वरूप

लघुकथालाई पिनको स्वरूपमा लेख्नु पर्दछ भन्ने मेरो बुझाई छ । भूमिका पिनको टाउको र तत्पश्चात कथा जति तल गयो साँघुरिदै जानुपर्दछ र अन्त्य तिखो र घोच्ने पारेर छोडीदिनु पर्दछ । कथाको सन्देशले घोच्ने बित्तिकै छोडिदिनु पर्छ, रन्थनाई र पीडा पाठकले महशुश गर्ने हो, लेखकले घोचाईपछि खुलासा गरिदिएर महशुश गराउने होइन् । तापनि, सबै लघुकथामा यो कुरा लागु नहुन पनि सक्छ ।

कथातत्व

कथालाई पाँचभागमा बिभाजन गरिएको छ । उत्थान, सङघर्ष आरोह, चरम, सङघर्ष अबरोह र अन्त्य ।

१. पहिलो तत्व हो कथाको उत्थानः कथाको उठान चुस्त आकर्षक हुनै पर्दछ । कथाको सुरुवाती चार पाँच वाक्य नै पाठकको ध्यान बाँध्ने तत्व हो र यसमा ध्यान खैंचन नसके पाठकले कथा पढ्न छोडिदिन्छ । उत्थानमा सानो भूमिका बाँधिन्छ, जसमा विषय, भाषाशैली, पात्र चयन, अवस्था आदी खुलाईन्छ ।

२. भूमिका: कथाको उठानमा आवश्यक भूमिका मात्र बाँध्नु पर्दछ । अनावश्यक वाक्य लेखेर पाठकलाई अर्थाइरहनु पर्दैन । आफ्नो लेखाइले नै बोध गराउन सक्नु पर्दछ ।

३. मध्य भाग या गुदीः कथामा व्याख्या गर्नुपर्ने जति कथन यसैमा लेख्नुपर्दछ, लघुकथा भन्ने बित्तिकै छोटामीठा वाक्य हुनुपर्दछ । (लामो कथालाई संक्षेपीकरण गरेझैँ) । यो अवस्था सम्म पनि लेखकले पाठकलाई कथामा बाँध्न सक्नुपर्दछ ।

४. उत्कर्षः यो कथाको अति नै संम्बेदनशील अवस्था हो । यो अवस्थापछि नै कथाको टुंगो लाग्ने भएकोले यहाँ लेखिने वाक्य या कथनले महत्वपूर्ण भूमिका खेल्छ ।

५. अन्त्यः उत्कर्षमा गोली चलाईन्छ र त्यसको असर अन्त्यमा देखा पर्छ । बस्, लेखकले आफ्नो कला यहाँ निर प्रदर्शन गर्ने हो कि कथाले दिने सन्देश या असर कस्तो सोचिएको हो त्यो अन्त्यको वाक्यले दिन सफल भयो कि भएन भनेर । प्रख्यात कथाकार ओ. हेनरीका कथाहरूमा पाइने विशेषता यही नै हुन् ।

लघुकथामा अन्त्य

लघुकथामा अन्त्य विभिन्न खालका हुनसक्छन् । कथाको रोचक पाटो भनेको यसको अन्त्य हो । अन्त्य निम्न प्रकारका छन् ।

क) बन्द अन्त्यः यसमा कथालाई निश्चित अन्त्य दिएर बिट मारिन्छ । बन्द अन्त्यमा कथाको सारलाई निचोडेर कथाकारले कथा टुङगाउछ । बन्द अन्त्यमा घटनाको अन्त्य हुन्छ र यसले निश्चित लक्ष हासिल गरेको देखाईन्छ भने पात्र र चरित्रको अवसान हुन्छ । लघुकथामा बन्द अन्त्य नै अधिक प्रयोग भएको र सान्दभिर्क हुन्छ ।

ख) खुल्ला अन्त्यः यसमा अन्त्यबाट फेरि कथाको उठान गर्न सक्ने संम्भाव्यता सहित अन्त्य गरिन्छ । खुल्ला अन्त्यमा कथाको अन्त्यलाई विभिन्न अन्त्य दिन सक्छ । अर्थात् एउटै कथाको अन्त्यलाई दुईभन्दा बढी अन्त्य दिन पनि सकिन्छ । यसरी एकभन्दा बढी अन्त्य दिएर लेखकले पाठकलाई अन्त्य छनौट गर्ने अवसर दिन्छन् र पाठकले ती मध्ये यो अन्त्य कथालाई सुहाउँदो छ भनेर अनुमान गर्दछन् ।

खुल्ला अन्त्यको नमुना

………… रिसाएर भिरतिर गएकी सुन्तली
क. आँखा चिम्लेर भिरबाट फाल हालि
ख. भिरबाट फालहाल्नु अगाडि छोरी सम्झी र फरक्क फर्की
ग. जीवनको अन्त्य गर्दैमा समस्याबाट छुटकारा पाईदैन भन्ने सोच्न थाली । आदि

ग) कौतुहलपूर्ण अन्त्य . यसमा कथाको अन्त्यपछि के भयो, कसो भयो, कसले ग¥यो होला आदी प्रश्न उव्जाईएर छोडिन्छ । कहिलेकाँही कथाकारले कथाको बिट मार्दा अन्त्यलाई खुल्ला छोडिदिन्छन् । यहाँ पाठकले कथाको सार अनुसार आफ्नो कल्पनाले यसो भयो होला भनेर लख काढछन् । कथाको लागि खुल्ला अन्त्य आकर्षक र रमाइलो हुन्छ भने लघुकथामा यसको प्रयोग थोरै गरेको मैले पाएको छु ।

कौतुहलपूर्ण अन्त्यको नमुना

– सिपाहीले बन्दुक घाइते बिद्रोहीको हातमा राखिदिएर फरक्क फर्कियो । बिद्रोहीले जादै गरेको सिपाहीलाई केही क्षण हेर्यो र मुट्ठी कस्यो ।
ढ्याङ…………. त्यसपछि एक गोली चल्यो ।

घ) बहु अन्त्यः यसमा कथाको विभिन्न अन्त्य देखाईन्छ । जस्तोः गोली चल्यो र उसलाई लाग्यो । यो सामान्य अन्त्य भयो भने लेखकले बहु अन्त्यमा त्यसपछिका संम्भाव्य अन्त्यहरु लेखिदिन्छ । जस्तो:
तर पनि उक्त गोलीले उसको प्राण गएन ।
उसले बगेको रगत हेरेर आफ्नो पाप बगेको महशुश ग¥यो ।

यसरी कथाकारले बहु अन्त्यमा चार या पाँच जति पनि अन्त्य दिन सक्दछ ।

कथातत्वको उदाहरणः

लघुकथा – बहाना

१. उत्थान
एक मुष्ठ दशैँ पेश्की र एक महिनाको तलब खल्ती भित्र हाल्दा सिङगो आकाश नै खल्ती भित्र हुलेको भान भएको थ्यो उस्लाई । बस चढेर घर जाने दोबाटो सम्म आई पुग्दा उस्ले दशौँ पटक खल्ती छामेको थियो ।

२. सघर्ष आरम्भ
ऋण नभएको व्यक्ति सबैभन्दा सुखी व्यक्ति हो, उस्ले संझ्यो । पाएको मध्ये आधा रकम दोबाटोमै कष्णे साहुको पसलमा बडो रवाफकासाथ उधारो चुक्ता ग¥यो । डेरा नपुग्दै घरपेटीको घरमा छिरेर चार महिनादेखीको बाँकी डेराभाडा बुझायो । निस्कदा बाँकी रहेको हजारका दुईवटा नोटले उस्लाई गिज्याउन थाल्यो ।

३. चरम
उस्ले छोराछारीको नयाँ“ लुगाको माग संझ्यो, श्रीमतीको एक जोर फरीयाको आवश्यकता संझियो, बर्षौं देखि तलुवा खिईएको आफ्नो जुत्ता हेर्दै लामो सास फेरेर मलिन अनुहार लगाऊ“दै कोठामा पस्यो ।

४. सघर्ष ह्रास
उस्को अनुहार देखेर श्रीमतीले आत्तिएर सोधी, के भयो ? उस्ले टोपी फुकालेर त्यसैले निधारको पसिना पुछदै….

५. अन्त्य
……अझ मलिन अनुहार लगाउदै भन्यो, गाउँमा ठुलो बा बित्नु भएछ, हाम्लाई जूठो पर्‍यो ।

लघुकथा र झिल्को कथाका (फ्ल्यास स्टोरि) केही भेदहरु

१. लघुकथा आकारमा कथा भन्दा सानो हुन्छ । शब्दका आधारमा भन्दा अधिकतम तीनसयदेखी चारसयसम्म शब्द या समयको आधारमा भन्दा एउटा चुरोट या कफि पिउने समयभित्र पढिसकिने हुन्छ ।
२. कथामा प्रस्तुत गरिने कालखण्ड भन्दा पनि छोटो कालखण्ड हुन्छ ।
३. कथामाझैँ लामो पृष्ठभूमि हुँदैन ।
४. अधिकतम तीन या सो भन्दा पनि कम पात्र हुन्छन् ।
४. अनावश्यक तर्क र तथ्य हुँदैनन् ।
५. कथामाझैँ यसमा लामा वाक्य हुँदैनन्, अनावश्यक बयान हुँदैनन्, घटना, पात्र र सम्वादले कथा बोल्दछ ।
६. वाचकले (न्यारेटर) को भूमिका न्यून हुन्छ ।
७. कथामाझै लामो र बोझिलो कथानक हुँदैन ।
८. लघुकथाको प्राण गति भएकोले कथालाई गति दिन छोटा वाक्य गठन हुन्छ ।
९. विषयलाई लिएर कुनै भ्रम हुँदैन र कथाले शीर्षकलाई पुष्टि गर्दछ ।
१०. कथानक बर्णात्मक या विवरणात्मक हुँदैनन् ।
११. सामान्यतया सम्बाद सामान्य भूतकालमा लेखिन्छ, चलचित्रका पटकथा जस्तो लेखिन्नन् ।
१२. लघुकथाको महत्वपूर्ण तत्व भनेको यसको अन्त्य नै हो जहाँ अचुक र असरदार झटका (पन्च) दिइन्छ । पन्चले पाठकको मस्तिष्कमा गहिरो असर पार्दछ, कथाको सन्देशको आयु बढाउछ र पाठकले कथालाई कालन्तर सम्म सम्झन्छ ।

झिल्को कथा (फ्ल्यास स्टोरि)
शब्द या वाक्यको आधारमा एक या दुई लामा वाक्यमा गठित, अधिकतम ३० सेकेण्डभित्र पढन सकिने कथा भन्न सकिन्छ ।
कथाको प्राविधिक पक्षलाई चतुरतापूर्वक वाक्यले नै पुष्टि गर्दछ । कथा या लघुकथामाझैँ पृष्ठभूमिको आवश्यकता पर्दैन् । पृष्ठभूमि, पात्र र घटनालाई पहिलो वाक्यमा नै सूक्ष्म रूपमा दर्शाउदै दोश्रो वाक्यमा पन्च सहित कथाको अन्त्य गरिन्छ ।

फ्ल्यास स्टोरिका दुई नमुना

मत्स्यन्याय

“के भयो ?“
“कमजोर थिए, लुटिए ।”
“अब !”
“प्रतीक्षामा छु, आफूभन्दा कमजोरको ।“

सदन

सबै ब्वाँसाहरु आपसमा ङयारङयार ङुरङुर गर्दै ओडारभित्र छिरे र चुपचाप मासु खान थाले, मान्छेको ।

वाचक (Narrator)

आख्यानमा कथयिता वा कथावाचक (न्यारेटर) भन्नाले पाठक या श्रोतालाई कथा भनिरहेको व्यक्ति या वाचकलाई जनाउदछ । अर्को शब्दमा भन्ने हो भने कथालाई वर्णन गर्ने ज्ञातालाई कथावाचक या कथयिता भनिन्छ । कथावाचकले विभिन्न दृष्टिकोणबाट कथा वर्णन गरिरहेको हुन्छ । यस आधारमा भन्दा सामान्यतया तीन दृष्टिबिन्दु प्रयोग गरेर कथा भनिन्छ या लेखिन्छ ।

१. प्रथम पुरुषः यसरी लेखिएका कथाहरूमा वाचक “म“ पात्र भएर आफै कथाको केन्द्रमा बस्दछ र कथा भन्दछ या केन्द्र बाहिर बसेर अन्य पात्रको कथा भनिरहेको हुन्छ । यस दृष्टिबिन्दुबाट कथा लेख्दा वाचकले आफूसंग घटित घटनाको वर्णन गर्नसक्छ, अन्य पात्रका सम्बाद भन्नसक्छ, आफूले सोचेको कुरा भन्न सक्छ तर अन्य पात्रले सोचेको कुरा भने वर्णन गर्न सक्दैन । अर्थात् आफ्नो धारणा र महशुश गरेको कुरा भन्न सक्छ तर अरूले के सोचिरहेको छ भन्ने कुरा भन्न या दर्साउन सक्दैन तर यसो सोच्दै होला भनेर अनुमान भने गर्न सक्छ ।

२. व्दितिय पुरुषः व्दितिय पुरुष दृष्टिबिन्दुबाट लेखिने कथामा “तँ, तिमी, तपाईँ जस्ता सर्वनामको प्रयोग गरेर या आफैलाई सम्बोधन गरेर मात्र पनि कथा लेखिन्छ । यस्ता कथाहरू वर्णनात्मक हुन्छन् र कमै मात्र कथाहरूमा यसको प्रयोग भएको पाइन्छ ।

३. तृतीय पुरुषः यहाँ कथावाचक कथाभित्र हुँदैन र नाम या सर्वनामको प्रयोग गरेर कथा भनिरहेको हुन्छ । यसरी लेखिएको कथामा कथाकारले कथाका सवैपात्रले सोचेको कुरा समेत वर्णन गर्न सक्दछ । यहाँ वाचक कथाको परिधीभन्दा बाहिर हुन्छ । अर्थात् वाचक सर्वज्ञ हुन्छ ।

लेखकले न्यारेटर (कथा बाचक) को बारेमा राम्रो ध्यान दिनु जरुरी छ । लेखकले कथा कसले भनिरहेको छ भन्ने कुरालाई ध्यान दिनु पर्दछ । वाचक म पात्र भएर आफै कथाको केन्द्रमा छ, या केन्द्र बाहिर बसेर अन्य पात्रको कथा भनिरहेछ, या कथाको परिधि भन्दा अलग रहेर बाँकी पात्रका कुरा गरिरहेछ भन्ने कुरालाई ध्यान दिनुपर्छ ।

बाचकका भेद
१. बाचक केन्द्रमा भए उसले आफ्नै कथा भनेको हुन्छ ।
२. केन्द्रभित्र भए अरूको कथा भन्छ तर
३. केन्द्र र परिधी बाहिर भए उसले पात्रको मात्र कथा भन्छ ।
४. बुँदा १ र २ मा लेखकले आफ्नो धारणा र महसुस गरेको कुरा भन्न सक्छ तर अरूले के सोचिरहेको छ भन्ने कुरा भन्न या दर्साउन सक्दैन तर बुँदा ३ मा पात्रको हरेक कुरा वर्णन गर्न सक्छ ।

लघुकथाको श्रोत

लघुकथाका मुख्य श्रोत भनेको समाजमा घटेका घटनाहरू, समाजका चरित्रहरू र विचलित समाजबाट उब्जिएका समस्याहरू नै हुन् र यिनैलाई सम्बोधन गरिएर लेखिन्छ । तसर्थ लघुकथामा सत्यताको अंश धेरै हुने र तिनलाई छोटो, सरल र असरदार तरिकाबाट कथामा व्यक्त गर्नुका साथै पाठकका हृदयमा सत्यताको आभास पनि गराउनुपर्ने भएकोले प्रथम या तृतीय पुरुष दृष्टिबिन्दुबाट लेख्दा उपयुक्त हुन्छ ।

भाषा तथा शब्द

कथा लेख्दा भाषा र शब्दावली चयन महत्वपूर्ण कुरा हो । पात्रको अवस्था, उमेर, चरित्र, वातावरण, स्तर, देश र काल अनुसार भाषा या शब्दको चयन गर्नुपर्दछ । भाषा तथा शब्द पात्रले बोल्ने सम्बादमा अझ महत्वपूर्ण हुन्छ । पात्र अनुसार उच्च आदरार्थि, आदरार्थि, मध्यम, निम्न र विदेशी भाषा (अर्थ सहित) र शब्दको चयन सुहाउँदो गर्न सक्नु पर्छ । गाउँको साधारण पात्रबाट उच्च आदरार्थि शब्द, भाषा या सम्बाद बोलाइनु गलत हुन्छ भने दरबारका पात्रहरुबाट निम्न भाषा, शब्द र समय असुहाउँदो सम्बाद पनि गलत हुन्छ ।

केही उदाहरणहरू

वैदेशिक भाषा
“हे एमद, दोज्दी ओभदे (ए एमद, यता आऊ) ।”
बोस्नियन आमिर्को विशेष लडाकु दस्ता चर्नि लाबुदोभि (कालो राजहाँस) मुख्यालय परिसरभित्र छिर्ने बित्तिकै एमदलाई कसैले बोलायो । एमदले आवाज आएतिर फकिर्एर हेर्यो, रिसेप्सन नजिकै तारिक हातमा एउटा खाम लिएर उसैतर्फ हेर्दै मुस्कुराइरहेको थियो ।
“स्तोसे दोगोदिलो, स्तो ये तामो ? (के भयो, के छ र त्यहाँ ?)”

पात्रको चरित्र अनुसार
“ट्यो घरको फन्टुस मर्यो भन्या, राटि भाट ड्या पनि ख्या न …झोक्राको ठ्यो डुरु डिंडा पनि ख्या न, खै के भो के भो ! ट्यो अलछिनि गे डेखी बर्बाड भे रा छ भन्या मासा्रव । ट्य मेरो फन्टुस कुकुर पनि मर्य‘ ।” अनि फेरी पोईल गएकी स्वास्नीलाई सराप्न थाल्यो, “बेमान् … घर बिगारेर जान हुन्छ नाबालख बच्चा छोरेर ? असट्टी …, भ्या पनि मारसाव, टेसलाई डेखाउन भ्या नि मेरो छोरालाई टपाइ जस्तै नबनाए ट गु खाउँला ल ।”

अवस्था दर्शाउने निम्न भाषा
“बा sss, आज पनि पँधेराँ मलाई अलग्गै राखेर भाँडा थाप्न लाए ।” सँगै सुतेको छोराको कुरालाई जुठेले वास्ता गरेन, केवल कपाल सुम्सुमाइ रह्यो ।
“बा sss, हाम्लाई ईनारबाट पानी झिक्न किन दिँदैनन् ?” यो प्रश्नले पनि छोराको शिरमा सल्बलाईरहेका जुठेका औंला रोकाइ मुख खोलाउन सकेनँ ।
“बा sss, हाम्रो पानी चल्दैन रे हो ?”
“खै sss, त्यसै भन्छन्,” बल्ल जुठेको वाक्य खुल्यो ।
“बा, तिमी त सँधै दर्वाराँ सनाई बजाउन जान्छौ, पानी चलाइ माग न ।”

उच्च आदरार्थि
“सरकार जागा भो ?” महारानीले मुनख्खादाख केलाउँदै सोधिन् ।
“छैन महारानी, अरुबेला भए यतिबेला सम्म त जागा भैसकिबक्सिन्थ्यो । कतै गाथमा आराम पो भए न कि !” चमेलीले जवाफ फर्काइ ।
“तेरो बोली शत्रुलाई लागोस्,” महारानीले हत्त न पत्त महाराजको लागि ढाल तेस्र्याइन्, “कामको बोझले गर्दा थाकिबक्सेको मात्र हो ।”
“त्यै त,” बेली ले चेपारे स्वरमा चीप्लो घसी, “यत्रो मुलुकको जिम्मेवारी सम्हालिबशक्सेको छ, जल समेत प्युँन फुर्सद पाईबक्सन्न । म त ज्युनारमा समेत रुचि घटेको देख्छु सरकारको, कविराजलाई बोलाएर देखाउनु पो पर्छ कि !”

देश काल
“ओस्कर रोमियो … आक्रमण भै रहेको छ, क्याजुअल्टी तीन घाइते सात … उता तर्फ पनि निकै क्षति भएको छ … ब्याकअप फोर्सको जरुरी छ … ओभर … ”
“सेरा नाइन … बन्दोबस्तिका सामानको अवस्था ?”
“ओस्कर रोमियो … माइक ब्राभो बढीरहेको छ … केही थ्रि नट थ्रि राईफल मात्र चलिरहेका छन् … गोलीको निकै कमी छ … ओभर ।”

कथामा प्रयुक्त भाषा तथा शव्दावलीले घटनाको विवरण दिने मात्र होईन् कथालाई जीवन्त पार्न र पाठकलाई घटनास्थलकै अनुभूति दिन निकै मद्दत गर्दछ ।

लघुकथामा झट्का (पन्च)

कुनै बालकले आगो छुँदा पोलेमा उसले फेरि त्यो वा त्यस्तो कुरा छुँदैन । त्यो पोलाईले उस्को चेतनामा असर गरेको हुन्छ । लघुकथामा पनि यदि कथाको तुराइमा यस्तो झट्का प्रयोग गर्न सकियो भने त्यो दिगो असरदायी हुन्छ । यस्ता झट्काले पाठकको चेतनालाई जागृत गराएर अन्तमा जुन वाक्य या शब्दले झट्का सहित दिएको सन्देश पाठकले कहिल्यै बिर्सदैन् किनभने बालकलाई जस्तै झट्का (पन्च) पाठकको चेतनामा लाग्दछ र झन्झनाहट, असर र कथाको सन्देश जीवनपर्यन्त रहन्छ ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार )