लघुकथा : मूर्छीत संस्कार

~दिलिप आचार्य~

त्यो गाँउमा बर्षौं देखि एकजना जमिनदारको राज चलेको थियो । थिचोमिचो को हद यत्ति सम्म थियो कि गाँउका हरेक चोक चोकमा जमिनदारका शालिक बनेका थिए र घर घरमा जमिनदारको तस्विर टाँगीएकै हुनु पथ्र्यो । गाँउमा जमिनदारको बोली नै कानून बराबर थियो र कसैले पनि त्यसको प्रतिकार गर्ने हिम्मत गर्दैनथे ।

विस्तारै गाँउमा स्वतन्त्र विचारको प्रवेश भयो र व्यक्ति पूजा को बिरोध र जनताको हकको लागी बिभिन्न गतिबिधिहरु शुरु हुन थाले ।

केहि शाहसी नेताको नेतृत्व, युवाहरुको जागरण र जनताको वितृष्णाको अगाडि जमिनदारको को केहि चलेन र अन्तमा उसले गाँउलेका घर खेत लगाएत सम्पूर्णा अधिकार फिर्ता गरे ।

स्वतन्त्रताको जोशमा गाँउलेले पुरानो जमिन्दारको तस्विर, शालीक लगाएत उसको नाम जोडिएको पाटी, पौवा र पाठशाला समेत ध्वस्त पारे ।

केहि समय भित्रै गाँउमा पुरानो जमिन्दारको नाम निशाना भेटन गार्‍हो पर्न थाल्यो ।

अझै केहि समय बित्दा त्यो गाँउमा अर्कै दृश्य देखिन थाल्यो । आफूलाई जमिन्दारको शोषण बाट मुक्त गर्ने नेताहरुको सम्मान गर्न भनेर गाँउलेहरुले धमाधम आफ्नो घर घरमा नयाँ नेताको तस्विर टाँगन थाले । चोक चोकमा फेरि नयाँ नेताका शालीक बन्न थाले र गाउँका बिभिन्न स्थानमा तिनका नामका स्मारक, पाटी पौवा निर्माण हुदैं थिए ।

बिस्तारै त्यो गाँउ यौटा पुरातनबादी संस्कारबाट मुक्त भई अर्को व्यक्तिबादि सस्कारमा जकडिन थाल्यो ।

(सभार :- Laghukatha )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged , , , , . Bookmark the permalink.