लघुकथा : पेशा

~दिलिप आचार्य ~

आज बिहानैदेखी उ केहि चिन्तित देखिन्थ्यो , उसको अनुहारबाटै उसका मनका तरंग र मस्तिष्कमा तनावको लहर चलिरहेको अनुमान लगाउन सकिन्थ्यो । अत्यधिक चिन्ताका कारण ऊ निदाउन सकेको थिएन ।

आज बिहान मात्रै उसले आफना तिनजना पुराना साथिहरुलाई भेटेको थीयो । तिनै जना आ-आफ्ना क्षेत्रमा स्थापित भैसकेका र राम्ररी जीवन यापनमा लागेका थिए । बर्षौंसम्म बरालिएर हिडने मान्छे आज बर्षौं पछि पुराना मित्रहरुलाई भेटेर खुशी हुनुको बदला ऊ झन् दुखी देखी्न्थ्यो र आफूले केहि गर्न नसकेकोमा केहि पीडीत पनि ।

ओछ्‍यानमा पल्टी पल्टी उसले आफ्नो व्यापारी साथिको बारेमा सोच्यो र आफू पनि व्यापारमा लाग्ने बिचार गर्‍यो, तर…. न त उसंग लगानीको लागि पूँजि थियो न त गाँउघरको विश्‍वास !

त्यसपछि उसले दोस्रो साथीको जस्तै कृषि पेशा अपनाउने बिचार गर्‍यो, तर बाउ बाजेले छाडेर गएका जग्गा जमिन बेचेर खाईसकेको र कृषि सम्बन्धी आजश्‍यक ज्ञान पनि नभएकोले उसले त्यो विचार पनि त्याग्यो ।

अन्तमा उसले सरकारी अधिकृतको रुपमा कार्यरत तेस्रो साथिको बारेमा सोच्यो र उसले जस्तै जागिर खाएर जिवनयापन गर्ने विचार गर्‍यो, तर अपसोच ….! …न त उसमा कुनै विशेष गुण थियो न त लोकसेवा दिन चाहिने आवश्यक योग्यता नै ।

सोच्दा सोच्दै उसको मानसपटलमा एक्कासी राजनीतिमा लागेको चौथो साथीको प्रतिविमब आयो, ….ऊ अनायशै मुस्कायो …. उसका चिन्ता अलि कम भए …अनुहार अलि तनावरहित देखीयो र ऊ विस्तारै आरामसँग निदायो ।

(श्रोत :- १५-१२-२०५४, गोरखापत्र )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.