कथा कसरी लेख्ने ?

~रुमन न्यौपाने~


१.कथाको बारेमा विषयको खोजी
२.बिषय सुहाँउदो चरित्रको पुर्ननिमाण
३.कथाको लम्बाई को बारेमा पुर्नसोच
४.कथा बाचन शैली र कथा कसलाई भन्न लगाउने
५.कथाको सुरुवाती बिन्दु र अन्तिम बिन्दुको तय
६.कथाको समय निर्धारण/रचना
७.पात्रहरू बिचको संभाषण शौलि र बाक्यहरूको पूर्व निमार्ण
८.सोचाइको अन्तिम तयारी
९.लेख्न सुरु गर्ने
१०.पात्रहरूलाई बुझ्ने र सुन्ने
११.कथाको दोस्रो मसौदा सुरु
१२.अन्तिम प्रारुप


स्टेफेन एम्ब्रोजले भने जस्तो सफल लेखक हुने मन्त्र भनेको मेजर अंग्रेजी लिएर पढेकी केटीसित बिहे गर्नु मात्र होइन यो त बरु लरेन्स कस्दानले भने जस्तो लेखक बन्नु भनेको जीवनकाल भर हरेक रात कडा होमर्वक गरिरहनु हो । लेखकको लागि कविता नै लेखन यात्राको सुरुवाती बिन्दु हो । यस सम्बन्धमा रोर्बट ग्रेभ्सले भनेका छन् । ‘कवितामा पैसा छैन तर पैसामा पनि कविता छैन’ । हो हरेक लेखक आफ्नै लागि लेख्छन् । साहित्यमा मजा छ त्यसैले लेख्छन् । हरेक लेखकले आफ्नो लेखन यात्रा कविताबाटै सुरु गरेको हुन्छ । यो भावना पोख्ने सहज र सर्बमान्य रुप पनि हो । कविताबाट कथा र कथाबाट आख्यान(उपन्यास)तिर लाग्ने प्रकिया चलनचल्तीकै परम्परा हो । कथा पढ्न जति सहज हुन्छ त्यसको बनावट र शिल्प निर्माण त्यतिनै कठिन हुन्छ । कथा लेख्न चाहनेहरूको लागि मेरो केही उपायहरू छन् । जसलाई मैले १२ भागमा (श्रेणिमा) बिभत्त गरेको छु । म यिनै प्रकिया अपनाएर कथाहरू लेख्ने गर्छु ।

अब सुरु गरैं ।

१.कथाको बारेमा विषयको खोजी

तपाई कस्तो खालको कथा लेख्न खोज्दै हुनुहुन्छ । पहिला त्यो बारे निर्क्यौल गर्नुपर्छ । कथाको शिर्षक पहीले नै सोचेमा कथा बनाउन सजिलो हुन्छ । जसलाई पछि आवश्यकता अनुसार परिर्बतन गर्न पनि सकिन्छ । शिर्षक पहिलेनै सोचिएमा त्यसको वरिपरिरहेर कथा भन्न वा भनाउन सजिलो हुन्छ । शिर्षक सोच्दा कथाको सम्पूर्ण भागलाई सम्बोधन गर्न सक्ने हुनु पर्छ । पाठकले धेरै हदसम्म कथाहरू शिर्षक हेरेर छान्ने हुँदा शिर्षकको बारेमा गहन अध्यन गर्नु पर्छ । कथाको प्रकार अनुसार शिर्षक लामो, छोटो, अपत्यारीलो लाग्ने नाम तथा ठाउँ छनौट गर्न सकिन्छ तर यो कथाकारको शौलीमा नै बढी भर पर्छ ।

२.बिषय सुहाँउदो चरित्रको पुर्ननिमाण ।

अब, कथाम आउने पात्रहरूको बारेमा सोच्न थाल्ने । यो नै कथाको मुटु हो । जसले तपाईको कथालाई पाठक समक्ष चिनाउने राम्रो उर्जा बोकेको हुन्छ ।
-चरित्र छनोट गर्दा ध्यान दिनु पर्ने कुराहरू ।

क.कथाको बाताबरण अनुसार पात्रहरू छान्ने ।
ख.पात्रहरू वास्तविक वा अवास्तविक के हुने हो त्यो सोच्ने ।
ग.पात्रहरूको मुख्य विशेषता र काम पहिलेनै लेख्ने ।
घ.पात्रहरूले बोल्ने कुराहरू तर्कसँग हुने हुन वा दृष्टान्तमा बढी केन्द्रित हुने हो । यो पहिले नै सोच्नु पर्छ ।
ङ.पात्रहरू को भेषभुषा र अन्य पात्रसँग भेट हुदाँ कस्तो व्यवहार देखाउने हो त्यो पनि पहीले नै सोच्नु पर्छ।

यसरी पात्रहरूको बारेमा सानो टिपोट बनाई तिनीहरूको नाम, बिषेशता सबै खुलाई पहिलेनै लेखी छाड्ने । जसले गर्दा लेख्न सुरु गरेपछि अफ्ठ्यारो नहुने हुन्छ ।

३.कथाको लम्बाई को बारेमा पुर्नसोच ।

छोटा कथाहरू यिनै हुन् भनी ठिकसँग भन्न कठिन हुन्छ । छोटा कथाहरूलाई पनि बिभिन्न आकारमा लेखेको पाइन्छ । प्राय गरी छोटा कथाको अर्थ एकै ठाउँमा बसि एकै चोटि पड्न सकिने आकारको भनी बुझिन्छ । Edgar Allan Poeले आफ्नो निबन्ध “The Philosophy of Composition” (1846)मा लेखनको लम्बाईको बारेमा लेखेका छन् । उनले छोटा भएकैले कथाहरू उपन्यासभन्दा मिठा हुन्छ भनेका छन् । आफूले लेख्न थालेको कथा यती लामो हुन सक्छ भनी पहीले नै पेपर ठिक पारि (पेपर गन्ती गरेर लिन पनि सकिन्छ) लेख्न सुरु गरेमा त्यतिसम्म कथालाई लम्बाउनु पर्ने आफैमा मानसिक दबाब जस्तो बन्छ । जसले गर्दा कथाले आवश्कता अनुसार पूर्ण लम्बाई पाउँछ । २०००० शब्दभन्दा बढी नहुने र १००० शब्दभन्दा कम नहुने कथालाई छोटा कथाको रुपमा लिन सकिन्छ । म छोटा कथा को बारेमा पछि लेख लेख्ने छु ।

४.कथा बाचन शैली र कथा कसलाई भन्न लगाउने

‘म’ प्रथम पुरुषमा । ‘तिमी’ द्धितीय पुरुषमा । ‘उ’ अथवा ‘उनी’ तृतीय पुरुषमा गरी कथा लेख्न सकिन्छ । ‘म’बाट कथा सुरु गर्ने हो वा अरु कसैबाट, पहिले नै अन्दाज गर्नु पर्छ । द्धितीय पुरुषमा त्यति कथाहरू लेखेको पाईदैनन् । तर तृतीय पुरुषमा कथाहरू भन्न मिल्छ । जसले कथालाई ‘म’बाट सुरु गरेकोभन्दा मिठो बनाउँछ । कथा बाचन शैली पनि अहिले धेरै प्रकारका छन् । जस मध्ये उपयुक्त हुने कुनै एक छान्न सकिन्छ ।

५.कथाको सुरुवाती बिन्दु र अन्तिम बिन्दुको तय

कथा कस्तो हुने र कहाँ यसको अन्त्य हुने भन्ने कुरा पहिले नै तय गरिनु पर्छ । कथाको अन्त्य तथा सुरुबाती बाक्य भ्रामक नहुने तर सकेसम्म पाठकलाई भ्रान्तीमा राख्ने वा मायामा पार्ने बनाउन सक्नु पर्छ जसले गर्दा कथाको अन्त्य पछि पनि पाठक केही बेर कथा सोच्न सकुन् ।

६.कथाको समय निर्धारण/रचना

कुन समयको कथा हो र कथा कस्तो बाताबरणमा लेख्न खोज्दै हुनुहुुन्छ । जस्तै ऋृतुको समय । काल्पनिक समय निर्धारण गरिए पनि त्यो बास्तिकतासँग मेल खाने हुनु पर्छ । जसलाई कथाको टाईमलाइन भन्न सकिन्छ । यो कथाको महत्वपूर्ण स्थान हो जसले तपाईको कथालाई पढ्न योग्य र यथार्थको निकै नजिक लैजान्छ ।

७.पात्रहरू बिचको संभाषण शौलि र बाक्यहरूको पूर्व निमार्ण

कथामा कस्तो किसिमको संघर्षको निमार्ण गर्ने । पात्रहरूले बोल्ने शौलि कस्तो हुने । उनीहरूले बोल्ने लामा तथा छोटा बाक्यहरूलाई पहिले नै लेख्नु पर्छ । यो टाईमलाइन बनाए पछिको प्रकृया हो । जहाँबाट कथा लेखनको आरभ्भ गर्न सकिन्छ । पहिले नै यो समयमा यो पात्रले यहाँ यो बोल्नु पर्छ भनी तय गरिएमा कथालाई आफूले भनेबमोजिम बनाउन सकिन्छ । यो काम कठिन हुन्छ तर हरेक उच्च स्तरका लेखकले गर्ने यो महत्वपूर्ण काम हो । जसले उनीहरूको कल्पनाशीलतालाई दर्शाउँछ । कथाको मुख्य भाग भनेको पात्रहरूले बोल्ने बाक्यमा नै हुन्छ । पात्रहरू बिचको संभाषण भनेकै लेखकको भावनालाई राम्रोसँग देखाउने स्थान हो । लेखकले दिने संदेश यिनै पात्रहरूबाट झल्किन्छ । कुनै पनि लेखकलाई अमर बनाउन उसको यिनै संभाषण बाक्यहरूले प्रमुख भूमिका निर्बाह गर्दछ । यदि तपाईले यो प्रकृया सन्तुष्टसँग गर्न सक्नुहुन्छ भने तपाईको कथा लेखनको आधा काम समात्ती यहीँ हुन्छ ।

८.सोचाइको अन्तिम तयारी ।

यो लेख्न सुरु गर्नुभन्दा पहिलेको अन्तीम अवस्था हो । तपाईले अहिलेसम्म गर्नुभएको कामलाई फेरि एकचोटी नियाल्ने काम यहाँबाट हुन्छ । यदि यो काम ठिकसँग भएको छैन भने पुन यही प्रकृया दोहराउनु उत्तम हुन्छ । यहाँसम्म को कदमले नै सबैभन्दा बढी समय लिन्छ । तपाईले आफ्नो सम्पूर्ण सोचको शत्ति यस बिन्दुसम्म लगाउँनु भयो भने मात्र कथा उत्कृष्ट बन्छ । तपाईले यस प्रकृया सम्मलाई घटिमा ७ दिन वा सोभन्दा बढी लगाउन सक्नुहुन्छ ।

९.लेख्न सुरु गर्ने

अब यहाँबाट तपाईले कथा लेख्न बस्नुहुन्छ । यो ठाउँ भनेको अहिलेसम्म सोचको, टिपेको कामलाई लयमय बनाउनु मात्र हो । तपाईले बास्तबमा कथा लेखिसक्नुभएको हुन्छ । यहाँ तपाईले शब्दहरूको चयन बिशिष्ट ढङ्गबाट गर्नु पर्छ । यसको लागि तपाईले शब्दकोष पल्टाउन सक्नुहुन्छ । लेख्नको लागि बढी बुझेको हुनु पर्छ त्यसैले बडिभन्दा बढी अध्यन गर्नु पर्छ ।

१०.पात्रहरूलाई बुझ्ने र सुन्ने

मनोमानी तरिकाले कथा अगाडि बडाउने मात्र होइन कि पात्रलाई तपाईले आफ्नो महशुस गरेको हुनु पर्छ । त्यो पात्र कथामा किन सिर्जना भयो भन्ने कुराको गहन बुझाई हुनु पर्छ । अनि मात्र तपाईको पात्रले पाठको हृदयमा ठाउँ लिन सक्छ । तपाईले लेख्न बस्दा पात्रहरूको बयान बरबराउन सक्नुहुन्छ । उनीहरूलाई जीवन्त ठान्नुहुन्छ भने कथा लेखनको स्थिति सहज बन्छ । लेखक बन्नु भनेको आफूलाई बिभिन्न पात्रहरूसँगै खेलाउनु हो । उनीहरूलाई सुन्नु र बुझ्नु हो । यो प्रकृयासँग लेखकले अहोरात्र आफूलाई पागल बनाउनु पर्छ । यही नै पात्रहरूलाई बुझ्ने र सुन्ने माध्यम हो ।

११.कथाको दोस्रो मसौदा सुरु

तपाईले कथा लेखिसक्नुभएको हुन्छ । त्यसलाई पुर्न लेखन गुर्नुस । नमिलेको ठाउँमा पुन थप्न वा घटाउन सक्नुहुन्छ । यस प्रकियामा तपाई कथा छिटो सकाउन खोज्नुहुन्छ । आफू माथि बोझ थप्दा कथाले खुल्न सक्ने अवस्थासम्म नखुल्न सक्छ । त्यसलै धैर्य राख्नुस् र चाहिने अवस्थासम्म कथालाई खुलाएर लेख्नुस् ।

१२.अन्तिम प्रारुप

यस चरणमा तपाईले लेखिसक्नुभएको कथालाई साथीभाइ वा अन्य कोही कथा सम्बन्धी दखल भएको व्यक्त्तिलाई पढ्न दिन सक्नुहुन्छ । जसले तपाईले लेखेको कथालाई कसरी बुझ्छ, कथाको बारेमा उनीहरूको टिपण्णी कस्तो हुन्छ त्यो हेर्न सकिन्छ । तपाईले बुझाउन खोजेको वा देखाउन खोजेको कुरा र उनीहरूले कथाबाट बुझेको कुरा एउटै भयो भने तपाईले लेख्नुभएको कथा उत्कृष्ट छ । अन्यथा पुन यी चरणहरू दोहोराउन सक्नुहुन्छ जसले गर्दा तपाईको लेखन अँझै प्रखर हुन्छ ।

छोटा कथा सम्बन्धी अरु कुरा अन्य लेखमा गर्ने छु । धैर्य साथ पढिदिनु भएकोमा धन्यवाद । तपाईलाई यो लेखले केही सहयोग गर्छ वा केही प्रतिक्रीया छ भने अवश्य भन्नु होला । अन्य यस्तै उपयोगी लेख लेख्न मलाई मदत मिल्ने छ ।

(स्रोत : Rumanamant.blogspot.com )

Leave a Reply

Your email address will not be published. Required fields are marked *