कविता : आफ्नै बिरुद्धमा

~दिनेश अधिकारी~Dinesh Adhikari

थुक्क !
मान्छेको जिन्दगी
बुझ्न थालेदेखि बाँचुन्जेलसम्म
सधैँ आफ्नै लास बोकेर हिँड्नुपरेको छ
सधैँ आफ्नै पीर ओढेर सुत्नुपरेको छ
बढ्तै गर्न सके
दालभातको सम्पन्नता साटेर
दिनहुँ-
आफ्नै जिन्दगी चपाउनुपरेको छ
बाँचुन्जेल
आफ्नै लागि सास्ती
र, मरेपछि पनि कसैलाई नखट्कने
अनुपस्थिति छ
मेरा लागि
मान्छे हुनुको गर्व
अब आफ्नै श्वासप्रश्वासमा चिलाउन थालेको छ
सार्थक जिन्दगीको प्रतिस्पर्धामा त
साँच्चै भन्छु-
गधासँग
म पहिल्यैदेखि हारिसकेको छु
गधा !
बाँचुन्जेल पनि अरुकै लागि भारी बोक्छ
मर्दा पनि
मान्छेजस्तो बेअर्थ मर्दैन
र, कमभन्दा कम
दुई जोर जुत्ता
अथवा
एउटा सुटकेसको उपयोगिता छाडेर मर्छ

थुक्क मान्छे !
भएका सारा दाँतहरु झरिसकेपछि पनि
चपाउन छोड्दैन आफ्ना थोत्रा गिजाहरु
र, चिपचिप चिपचिप
आफ्नै रगतको स्वाद चुसेर हाँस्छ
‘मान्छे’ नामको यो जातलाई
अर्थोक केही चाहिँदैन
म त भन्छु-
एक जोर जुत्ता जुटाइदिने
आश्वासन मात्र दिनुपर्छ
यसले,
छँदाखाँदाका आफ्ना दुईवटा खुट्टा पनि काट्छ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *